काठमाडौं । नेपाल मानव अधिकार संगठन, काठमाडौंले नवनियुक्त नेपाली राजदूत प्रा. कपिल श्रेष्ठलाई सम्मान गरेको छ ।
सोमबार राजधानीमा आयोजित विशेष समारोहमा लामो समयसम्म सामाजिक आन्दोलन र मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेर नयाँ जिम्मेवारी निर्वाह गर्न गइरहेको भन्दै संगठनले नवनियुक्त राजदुत श्रेष्ठलाई सम्मान गरेको हो ।
प्रा. श्रेष्ठलाई सरकारले दक्षिण अफ्रिकाको राजदूत नियुक्त गरेको छ ।
अधिकारकर्मी प्रा. श्रेष्ठ नेपाल मानव अधिकार संगठनका संस्थापक महासचिव, पुर्वअध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पुर्वसदस्य समेत हुन् ।
उनले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । चाँडै उनले आफ्नो जिम्मेवारी सम्हाल्न तोकिएको देश जाँदैछन् ।
संगठनका वर्तमान काठमाडौंका सभापति रबिन सिंह बस्नेतले लामो समयसम्म मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेर नयाँ भूमिका र जिम्मेवारी सम्हाल्न लागेकोमा राजदूत श्रेष्ठलाई बधाई तथा शुभेच्छा व्यक्त गरे ।
आफ्नो क्षेत्रमा हासिल गरेको अनुभव कूटनीतिक क्षेत्रमा काम लाग्ने भन्दै दक्षिण अफ्रिकासँग नेपालको द्विपक्षीय सम्बन्ध बलियो बन्ने अपेक्षा व्यक्त गरे ।
