काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बढुवा भएका नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी) सहितलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
एआइजीमा बढुवा हुनेहरुमा कुबेर कडायत र रविन्द्र केसी रहेका छन् भने डिआइजीमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया रहेका छन्।
एआइजी बढुवा सिफारिस मन्त्रिपरिषद् बैठकले गरेको हो भने गृहसचिव गोकर्णमणि दवाडीको संयोजकत्वको सिफारिस समितिले डिआइजीमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका अधिकृतलाई बधाइ तथा शुभकामना दिँदै जिम्मेवारीमा पूर्ण प्रतिबद्ध भई कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिए । सबै प्रहरी अधिकृतले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा उनको जोड थियो ।
