काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–८, हिलेटक्सार माझगाउँका इमानसिंह गुरुङ १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन गएका थिए। तर फेल भए।
लाहुरे बन्ने सपना चकनाचुर भएपछि उनको मानसिक अवस्था कमजोर हुँदै गयो। उनले मन पराएको केटीले पनि अर्कैसँग बिहे गरिन्। उनको मानसिक अवस्था झन् बिग्रँदै गयो।
मानसिक सन्तुलन गुमाएपछि उनले घरपरिवारमाथि नै आक्रमण गर्न थाले। परिवारले बाध्य भएर उनलाई ३२ वर्षसम्म कुकुर बाँध्ने साङ्लोले बाँधेर राखे। १८ वर्षको उमेरदेखि ५१ वर्षसम्मको जीवन उनले यस्तै अवस्थामा बिताए।
२०७७ सालमा मानव सेवा आश्रमले इमानसिंहको उद्धार गर्यो। आश्रमको स्याहार र उपचारपछि उनीमा सकारात्मक परिवर्तन आयो। लमजुङबाट हेटौँडासम्म पुर्याएर गरिएको उपचारले उनी सामान्य जीवनतर्फ फर्किन थाले।
अहिले उनी आफ्नै घर फर्किएका छन्। परिवारसँग खुसीपूर्वक जीवन बिताइरहेका छन्। ३२ वर्षको कठिन र पशुवत् जीवनलाई पछि छोड्दै इमानसिंहले फेरि आफ्नो जीवनलाई नयाँ सुरुवात दिएका छन्।
