काठमाडौँ । कतारबाट मलद्वारामा सुनको सिक्री लिएर आएका सप्तरी २ सहित ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी सुनसहित पक्राउ परेका हुन्।
उनीहरु शुक्रबार हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट काठमाडौं आएका थिए। भन्सार छली लैजान लागिएको सुन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइएको सुन जस्तो देखिने धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।
कृष्णको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री र शिवशंकरको साथबाट ५८.३३ ग्रामको सिक्री बरामद भएको छ।
प्रहरीले तीनै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको छ।
