विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पादन सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्वोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनिकरण, फरार प्रतिवादी पक्राउ, साईवर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा परिचालन हुन समेत उनको निर्देशन छ ।
डिआइजी अधिकारीले हिउँदको समयमा लाग्ने मेला पर्वमा प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मजबुद बनाउन, मेलामा प्रहरीको स्टल समेत राखी सचेतनामूलक पर्चा, पम्प्लेट वितरण तथा PSA बजाई आम नागरिकमा सचेतना अभिबृद्धि गर्न समेत भनेका छन् ।
उनले कार्यसम्पादन सम्झौतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अनुरोध गर्दै कार्यसम्पादन बमोजिम सर्वोत्कृष्ट कार्य गर्ने कार्यालय प्रमुखलाई पुरस्कृत गरिने बताए ।
साथै सिमित स्रोत साधनको वावजुद पनि मेहनतका साथ कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन महत्वपूर्ण कार्य गर्नु हुने मातहत कार्यालय प्रमुखहरुलाई हृदय देखि आभार व्यक्त गरेका थिए ।
निर्देशन सम्वोधन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले समेतको उपस्थिति रहेको थियो ।
