काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै चलाएको छ ।
सोहीक्रममा चितवन प्रहरीले साढे २ महिनामा २९५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । चितवन प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमाण्ड सम्हालेयता २९५ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
विशेष अभियान अन्तग्रत चितवन प्रहरीले पुस २४ गते बुधबार १०२ र बिहीबार ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरि अदालतमा बुझाएको छ । जुन संख्या अहिलेसम्मकै धेरै हो ।
‘अदालतको फैसला कार्यान्वयन गर्न चितवन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले भने, ‘स्थायी वतन अर्को जिल्ला भएर यहाँ आएर अपराध गरी भागेकालाई समात्नु भने चुनौतीपूर्ण छ ।’
पक्राउ परेका प्रतिवादीहरु जालसाजी, जुवा, सम्बन्धविच्छेद, सार्वजनिक अपराध, किर्ते, लागूऔषध, चेक अनादर, चोरी, गाली बेइज्जतीलगायत मुद्दाका रहेको डीएसपी महतोले बताए ।
२९५ जना प्रतिवादीबाट ९५ लाख ४१ हजार २०७ रूपैयाँ जरिवाना र ४० वर्ष ५ महिना ३ दिन कैद सजाय असुल गरिएको उनले बताए ।
‘हामीले ३५ वर्षअगाडि अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई फरार भएका प्रतिवादीलाई पनि पक्राउ गरी फैसला कार्यान्वयन गराएका छौँ’, उनले भने । २०४५ सालमा चोरी मुद्दामा दोषी ठहर भई अदालतबाट १९५ रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
कैद सजाय तथा जरिवाना असुल गर्नका लागि अदालतले फरार प्रतिवादीको सूची प्रहरी कार्यालयमा पठाउने गर्छ । सोही आधारमा फरार प्रतिवादी खोजेर प्रहरीले अदालतमा उपस्थित गराउँछ ।
