काठमाडौं । गृह मन्त्रालय ६ महिनायता खाली रहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारीमा जुटेको छ । सम्भवतः आज एसएसपी बढुवा निस्किनेछ ।
१७ भदौदेखि रिक्त हुन थालेको एसएसपी पद अहिलेसम्म आइपुग्दा रिक्तको संख्या २५ पुगिसकेको छ । यसरी लामो समयसम्म बढुवा हुन नसक्नुको कारण हो राजनीतिक हस्तक्षेप ।
एसएसपीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
एसएसपीको बढुवामा अहिले दुई ब्याचका एसपीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरूबीच हुनेछ ।
जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् । यद्यपी उनीहरू पनि २०५८ कै टोलीसँग नै एसपीमा बढुवा भएका थिए ।
०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरू पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।
०५८ का ब्याचीहरू पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की, सिंह र बस्नेत भने २०५८ कै टोलीको दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरू पनि बढुवा भएका हुन् ।
०५८ को ब्याचीबाट रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन् ।
उनीहरूभन्दा पछि २०७७ वैशाख १७ मा बढुवा भएका २०५८ कै ब्याचीहरू पनि बढुवाको प्रतिस्पर्धामा छन् । जसमा होविन्द्र बोगटी, बेद विष्ट, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, संञ्जयसिंह थापा, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला, प्रविण धिताललगायत छन् ।
यीमध्ये केही विवादित प्रहरी अधिकृत छन् । जबकी उनीहरु राजनीतिक शक्तिकेन्द्रलाई रिझाएर बढुवा हुने दाउमा छन् । जस्तो प्रकाश रानाभाट, विमल बस्नेत, जर्नादन जिसी, कमल थापा, श्याम कुमार महतो, वीरबहादुर बुढामगर विवादित अधिकृत हुन् ।
त्यसैगरी राकेश सिंह, तुलबहादुर कार्की, संजय सिंह थापा, दिपेन्द्र शाही, प्रकाश मल्ल, राजीव बस्नेत पनि विवादित छविका हुन् । तर, उनीहरु राजनीतिक नेतृत्वलाई रिझाएर जसरी पनि बढुवा हुने दौडमा छन् ।
सङै बढुवामा जुनियर एसपीहरुले समेत राजनीतिक शक्तिकेन्द्रमार्फत प्रहरी प्रमुखलाई चर्को दबाब दिएका छन् । जबकी ती एसपीहरु कार्यक्षमतामा समेत कमजोर छन् । तर, प्रहरी प्रमुख वसन्त कुवर कुनैपनि हालतमा सिनियरलाई छाडेर जुनियर एसपीलाई बढुवा गर्ने पक्षमा छैनन् ।
