काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षकको पदावधि थप गरेको छ ।
मंगलबार राती बालुवाटारमा बसेको बैठकले बैठकले सशस्त्र प्रहरी नायव महानिरिक्षकहरु कमल गिरी, गणेश मगर, कुलबहादुर नेम्वाङ् र शम्भु सुवेधीको पदावधी एक वर्ष थप गरेको हो ।
उनीहरुको पदावधि मंगलबार रातिबाट सकिँदै थियो । तर, अवकाशको केही घण्टा अघि सशस्त्रका चार डीआईजीको म्याद थप भएको हो ।
अब उनीहरू एक वर्षका लागि पुनः काममै सक्रिय हुनेछन् । म्याद थपसङै भावी नेतृत्व चयनमा समेत परिवर्तन भएको छ । यहि ब्याजबाट अब एकजना नेतृत्वमा पुग्नेछन् ।
सिनियरको हिसाबले आगामी वैशाखमा गणेश ठाडा मगर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुनेछन । उनीसँग प्रतिस्पर्धामा कमल गिरी भए पनि ठाडा मगरले जस्तै शक्तिकेन्द्रको सन्तुलन मिलाउन उनलाई कठिन हुने आँकलन रहेको छ ।
ठाडा मगरलाई सशस्त्र प्रहरी बलको महानिरीक्षक बनाउनकै लागि अवकाशको केही घण्टा अघि मात्र डीआईजीको म्याद एक वर्षका लागि थपिएको चर्चा छ । सशस्त्र प्रहरी नियमावलीमा भएको छिद्रमा टेकेर महानिरीक्षक राजु अर्यालको सिफारिसमा चार डीआईजीको म्याद थप भएको हो ।
