काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले पदभार ग्रहण गरेका छन् ।
महाशाखामा सोमबार आयोजित कार्यक्रममा घिमिरेको स्वागत गरिएको थियो । उनलाई प्रहरी उपरीक्षक (एसपी) संजय बहादुर राउतलगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।
पदभार सम्हाल्दै एसएसपी घिमिरेले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
नवनियुक्त प्रमुख घिमिरेले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना न्यूनीकरणमा भएका कामहरूलाई आफूले निरन्तरता दिने बताए । विगतमा पनि आफूले महाशाखाअन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
