काठमाडौं । पोसाक नै लगाएर आफूलाई नेपाल प्रहरीको इन्स्पेक्टर हुँ भन्दै ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । काठमाडौं मनोहराका सुदीप थापालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
थापाले इन्स्पेक्टरको परिचयपत्र बनाउने मात्र होइन, इन्सपेक्टरको फुलीसहितको प्रहरीको यूनिफर्म नै लगाएर हिड्ने समेत गरेको पाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।
उनले विदेश पठाउने भनेर ३ जनालाई ६९ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार कतिपय अवस्थामा उनी युनिफर्म नै लगाएर प्रहरी कार्यालयमा समेत पुग्थे ।
प्रहरी कार्यालय पुगेर जुनियर प्रहरीलाई आफु इन्सपेक्टर भएको भन्दै भ्रममा पारेर सलाम समेत गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ । पीडितहरुलाई विश्वासमा पार्न उनले यस्तो शैली अपनाएका हुन् ।
आफू उत्कृष्ट काम गरेबापत सइबाट विशेष बढुवा भएर इन्स्पेक्टर भएको भन्दै प्रहरीलाई नै झुक्याएकोसमेत पाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
