काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा ३ जना प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२ वर्षीया मिनसाङ लामा उर्फ अनिता र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लाल बहादुर तामाङ छन् ।
उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरुमाथि ‘सीआईबीका प्रहरी हौँ’ भनेर एकजना महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोप छ ।
पक्राउ परेका आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन बरामद गरिएको छ । पक्राउ परेका सुजन नेपाली पूर्व प्रहरी जवान रहेको खुलेको छ । उनी ४ महिनाअघि प्रहरी वृत्त महराजगञ्जबाट बर्खास्तीमा परेको बताइएको छ ।
पुस १४ मा दुबईबाट आएकी एकजना महिलालाई गठ्ठाघरमा नियन्त्रणमा लिएर उनीहरुले सानोठिमीस्थित प्रहरी प्रभागमा लगेका थिए । उनीहरुले ट्याक्सिमा लगेर बिचबाटोमा सुन लुटेर छाडेको खुलेको छ ।
पक्राउ परेकामाथि प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
