काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी नगरपालिका–३ चपराडाँडामा ७६ वर्षीय डोमान सिंह सार्कीले फलामको गल (खन्ती)ले हान्दा छोरा ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको ज्यान गयो। यो विभत्स घट्ना रक्सी र वृद्ध भत्ताको विवादले भएको खुलेको छ ।
वडा सदस्य कमल बहादुर रानाका अनुसार लिलाबहादुर अधिकांश समय रक्सीकै नसामा रहने गरेका थिए। जाँडरक्सी खाएर हिँडेकै कारण श्रीमतीले पनि छोडेर हिडेकी थिइन् । त्यसपछि उनी बुबाआमासँगै बस्दै आएका थिए।
उनी आमाबुबाको बृद्धाभत्ता आएपछि प्रायः पैसा मागेर सधैं झगडा गर्थे। यस पटक पनि बुवा डोमान र आमा बिल्कुले ११ पुसमा वृद्ध भत्ता थापेको थाहा पाएपछि सोही पैसा लिनका लागि झगडा गर्ने क्रममा घट्ना भएको खुलेको छ।
स्थानीयका अनुसार शनिबार साँझ करिव ८ बजे लिलाबहादुर रक्सी खाएर बुबा डोमानलाई मुख छाड्दै घरको आगनमा पुगेका थिए। छोराले मुख छाड्दै हातपात गर्न थालेपछि ७६ वर्षका डोनामले घरको एउटा कुनामा राखेको गल र कोदालोले छोरालाई प्रहार गरे।
श्रीमती बिल्कु र कान्छा छोरा टेकबहादुरले डोमानलाई रोक्न खोजे। तर डोमानको रिस सान्त भएन। उनले गल प्रहार गर्दा लिलाबहादुरको टाउको देखि शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्यो। ‘गलले हानेर शरीरमा प्वालै प्वाल बनाएछन्। गाउँका मान्छेहरु पुग्दा धुकधुकी मात्रै बाँकी थियो’– वडा सदस्य रानाले भने।
हल्लाखल्ला भएर गाउँका मानिसहरु जम्मा हुँदा लिलाबहादुरको धुकधुकी मात्रै बाँकी थियो। उनलाई तत्कालै हुटौंडा अस्पताल लगियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
छोराको मृत्यु भएपछि डोमानलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
