काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले) मा नरहेको घोषणा गरेका छन् ।
उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आफू अहिले कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारेका छन् । आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको खनालको भनाइ छ ।
‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेँ । यसैले म यसै माध्यमबाटस्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,’ उनले फेसबूकमा लेखेका छन् ।
उनले थपेका छन्, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्य गरिरहने छु ।’
२०७६ मा ३० वर्षे सेवा अवधिका कारण प्रहरीबाट अवकाश भएपछि पूर्वआईजीपी खनाल एमालेसँग जोडिएका मात्रै थिएनन् पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।
त्यसको दुई महिनापछि नै खनालले काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए ।
तर, पराजित भए । पछि खनालले तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवारी दिए ।
यद्यपि, तनहुँ–१ मा पनि उनी पराजित भए । त्यसयता उनी एमालेमा त्यति सक्रिय देखिएका थिएनन् । हाल अहिले आएर उनले सामाजिक सञ्जालमार्फत आफू एमालेमा नरहेको प्रष्ट पारेका हुन् ।
