काठमाडौं । भक्तपुरमा भएको स्कुटर दुर्घटनामा परी झापाको भद्रपुर नगरपालिकाकी पूर्वउपमेयर चन्द्रमायाँ श्रेष्ठका छोराको मृत्यु भएको छ ।
तीनदिन अघि भक्तपुरको सानोठिमीमा भएको स्कुटर दुर्घटनामा परी भद्रपुर– ८ निवासी चन्द्रमायाका छोरा २९ वर्षीय निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी गम्भीर घाइते भएका थिए । घाइते मध्ये निश्चलको नर्भिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीबार साँझ निधन भएका निश्चल चन्द्रमायाका एउटै सन्तान हुन् । पूजाको सोही अस्पतालमा उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै घर फर्किएका थिए ।
बिहीबार राति पूनः अस्ट्रेलिया उड्ने तयारीमा रहेका उनीहरु सामान किनेर भक्तपुरस्थित घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । कुकुरले सडकमा अवरोध गरेपछि स्कुटर अनियन्त्रित भई उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
