काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा २ अर्ब २४ करोडभन्दा बढी अर्ब राजश्व संकलन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पछिल्लो पाँच महिनामा (२०८१ साउनदेखि मङ्सिरसम्म) २ अर्ब २४ करोड ११ लाख २० हजार ५८५ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै अवैध मालसमानबाट ९० करोड ५७ लाख ७३ हजार ९२६ रुपैयाँ राजश्व संकलन भएको छ । जुन प्रहरीले संकलन गरेको राजश्वको ४०.४२ प्रतिशत हो ।
त्यस्तै, दोस्रोमा ट्राफिक कारबाहीबाट ५२ करोड ७ लाख ८७ हजार ५२१ रुपैयाँ राजश्व संकलन भएको छ भने अदालती फैसला कार्यान्वयनबाट ४२ करोड ७४ लाख ३७ हजार १८९ रुपैयाँ राजश्व संकलन भएको छ ।
उनका अनुसार अवैध सुन चादीबाट २६ करोड २९ लाख ६७ हजार २८३, अवैध मुद्राबाट ४ करोड ३७ लाख ९५ हजार ८४२, हुण्डी कारोबारबाट १ करोड ८३ लाख ४ हजार ४८४ रुपैयाँ राजश्व संकलन भएको छ ।

