काठमाडौं । सशस्त्र प्रहरीको मधेश प्रदेशस्थित नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौबजीलाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि मुख्यालय बोलाएको छ । सशस्त्र मुख्यालयले बुधबार उनलाई सरुवा पत्र पठाएको हो ।
पदीय आचरणविपरीत काम गरेको भन्दै उनलाई सशस्त्र मुख्यालय बोलाइएको हो । उनीमाथि तस्कर समूहसँग मिलेर काम गरेको आरोप छ ।
सशस्त्र प्रहरीको मुलुकभर ८ वटा बाहिनी भएपनि पछिल्लो वर्षमा छानबिनका लागि बोलाइएका उनी पहिलो बाहिनीपति हुन् । सशस्त्र प्रहरीले आफ्नो वार्षिकोत्सवमा एक जनालाई उत्कृष्ट बाहिनीपति अवार्ड दिँदै आएकोमा धौबजी भने वार्षिकोत्सवको मुखैमा छानबिनका लागि मसख्यालय आउनु परेको छ ।
डीआईजी धौबजीको व्यवहारबाट त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति, गुल्मपति र बेसपतिहरु आजित बन्दै आएका थिए । डीआईजी धौबजीले जथाभावी रुपमा रकम माग्न थालेपछि व्यापारी र सशस्त्र प्रहरीकै अधिकृतहरु आजित बन्दै आएका हुन् ।
संगठनविपरीत काम गर्दा पनि सशस्त्र प्रहरी मुख्यालयले कुनै कारबाही गर्न नसकेको भन्दै संगठन प्रमुखको चर्काे आलोचना भइरहेका बेला उनी मुख्यालय तानिएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि पाँच वर्षअघि यहीँको बाहिनीपति थिए । त्यसबेला उनले लिएको भ्रष्टाचारमा ‘शून्य सहनशिलताको नीतिले’ उनी वाहवाही कमाएर फर्केका थिए । तर, अहिले उनी नै संगठन प्रमुख हुँदा उनी यसअघि बसेको बाहिनी भने बदनाम बन्दै गएको छ ।
डीआईजी धौबजी मधेश प्रदेशको बाहिनीपतिमा सरुवा भएको खबरले त्यतिखेर नै त्यहाँका व्यापारी र सशस्त्र प्रहरीका अधिकृतहरुमा बेचैनी बढेको थियो । सशस्त्र प्रहरीको गण, प्रस्तावित गुल्म, बीओपीदेखि बेससम्मका प्रमुखहरुमा बेचैनी बढ्नुको मुख्य कारण भने उनको भ्रष्ट छबी थियो । बाहिनीपति भएर आएपछि पैसा मागेर दिनसक्ने दुःखले त्यसबेला नै उनीहरुमा छटपटी बढेको थियो ।
रकम उठाउनका लागि बाहिनीपति धौबजीले व्यापकरुपमा ‘घुमुवा’ परिचालन गरेका थिए । यसका लागि उनले कोर्ट मास्टर, सञ्चारमा कार्यरतदेखि परिचरलाई समेत घुमुवाको रूपमा परिचालन गरेका थिए ।
स्मरणीय के छ भने, सशस्त्र प्रहरी मुख्यालयले मात्रै नभएर गृह मन्त्रालयसम्मले घुमुवा राख्न नपाउने नीतिगत निर्णय गरेर मातहत कार्यालयलाई परिपत्र गरेकोसमेत लामै समय बितिसकेको छ । तर, यसलाईसमेत उल्लंघन गर्दै बाहिनीपति धौबजीले सशस्त्र प्रहरी बललाई नै बदनाम गर्ने गरी काम गरिरहेका थिए ।
उनले रकम संकलनको जिम्मा सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश महतो र सशस्त्र प्रहरी सहायक हबल्दार सुरेश यादवलाई दिएका चर्चा विगतमा पनि चलेको थियो । यादव यसअघि पाँच वर्ष घुमुवा बसिसकेका व्यक्ति हुन् । उनको दरबन्दी २ नम्बर बाहिनी नै हो ।
मधेस प्रदेश बाहिनीअन्तर्गत मधेश प्रदेशका आठ वटा जिल्ला सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट पर्छ । धौबजीले यी जिल्लाका तस्कर, व्यापारी र सशस्त्र प्रहरीकै जिम्मेवार अधिकृतहरुसँग ‘बाहिनी निवास’ बनाउने भन्दै रकम माग गरेको चर्चा यसअघि पनि चलेको थियो ।
काठमाडौं कोटेश्वर घर भएका उनले अवैधरुपमा आर्जन गरेको रकमबाट बारास्थित सशस्त्र प्रहरी गणसँगै दुई बिघा, धनुषाको नकटाजीमा एक बिघा, खोटाङको सशस्त्र प्रहरी गुल्मसँगै एक बिघा जग्गा जोडेका छन् । नीलबाराही गणको गणपति हुँदा उनले एपीएफ अस्पताल बलम्बुनजिक दुई रोपनी जग्गा किनेका थिए ।
उनले सशस्त्र प्रहरी बलमा आएपछि २० करोड रुपैयाँभन्दा बढी रुपैयाँ अवैध रुपमा कमाएको समाचार स्रोतको भनाइ छ ।
डीआईजीमा बढुवापछि उनी सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा पनि कार्यरत थिए । त्यसपछि पोखरास्थित नम्बर ४ बाहिनीको बाहिनीपतिमा सरुवा भएका उनी सो बाहिनीबाट नम्बर २ बाहिनीमा आएका हुन् ।
४ नम्बर बाहिनीको बाहिनीपति हुँदा गणपति र गुल्मपतिसँग रकम उठाएको उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालयले उनीमाथि स्पष्टीकरण पनि सोधेको थियो ।
उनीमाथि रासनको पैसा खान बाहिनीमा कार्यरत आधारभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु छाड्ने गरेको आरोप पनि छ । डीआईजी धौबजी २०५२ साल असोज २६ गते नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका व्यक्ति हुन् ।
प्राविधिक पृष्ठभूमि भएकाले उनीमा कमान्ड कन्ट्रोल पनि देखिँदैन ।
