काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को रिक्त संख्या ५ पुगेको छ । बुधबार २ डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेसँगै रिक्त संख्या ५ पुगेको हो ।
यसअघि दुईजना एआईजी र एकजना डीआईजीले अवकाश पाएसँगै ३ पद रिक्त थियो । त्यसैले अब प्रहरीमा डीआईजीको रिक्त संख्या ५ पुगेसँगै करिब दुई दर्जन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु बढुवाको दौडमा छन् ।
यसअघि बढुवा गर्दा एसएसपीको वरीयताक्रम अनुसार नै बढुवा गरिएको थियो। अब पनि त्यसै गर्ने सम्भावना छ । तर ५ जना डीआईजीका लागि ६ जना एसएसपी मुख्य दाबेदार देखिएका छन् ।
एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन् । यस्तै ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया मुख्य दाबेदार देखिएका छन् ।
अब यी ६ जना मध्येबाटै ५ जना डीआईजी बढुवा गर्ने तयारी छ । वरीयता अनुसार नै बढुवा गरिए थपलिया छुट्नेछन् । तर थपलिया पनि अहिले नै बढुवा हुनका लागि चर्को लबिइङमा छन् ।
उनलाई बढुवा गरिए अगाडिका एकजना छुट्नेछन् ।
यही ब्याचका र सँगै एसएसपी भएका अरु अधिकारीहरु पनि बढुवाको दौडमा छन्। तर उनीहरु भने अहिले नै एसएसपीमा बढुवा हुने सम्भावना कम छ
एसएसपीहरु माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला र दिपककुमार बस्नेत पनि यही टोलीका हुन् ।
यस्तै जयराम सापकोट, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास र शारदाप्रसाद चौधरी पनि २ वर्ष अघि नै एसएसपी भएको टोलीका हुन् । तर उनीहरु भने आगामी चैतमा मात्रै डीआईजीमा बढुवा हुने सम्भावना छ । त्यसमा पनि ९ जना मात्र हुनेछन् ।
