काठमाडौं । नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त हुँदा पनि लामो समयदेखि बढुवा सिफारिस हुन सकिरहेको छैन । हाल एसएसपीको २५ पद रिक्त छ ।
प्रहरी उपरीक्षक (एसपी)हरुको चर्को प्रतिस्पर्धाका कारण बढुवा सिफारिस हुन नसकेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृतले जानकारी दिए ।
बढुवामा जुनियर एसपीहरुले राजनीतिक शक्तिकेन्द्रमार्फत प्रहरी प्रमुखलाई चर्को दबाब दिएको कारण बढुवा रोकिएको हुनसक्ने ती अधिकृत बताउँछन् । उनले भने, ‘जबकी ती एसपीहरु कार्यक्षमतामा समेत कमजोर छन् ।’
सबैभन्दा बढी दबाब दिनेमा ४/५ जना एसपीहरु छन् । ती एसपीहरु हुन् पदम बिष्ट, योगेन्द्र सिंह थापा र चक्रराज जोशी, । यिनीहरु तिनैजना सुदुरपश्चिम प्रदेशका हुन् । जसकारण उनीहरुलाई नेपाली काङ्ग्रेसका नेताहरुले बोकेका छन् ।
बिष्ट जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख छन् भने जोशी कंचनपुर प्रहरी प्रमुख र थापा प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । उनीहरुलाई काङ्ग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले बढुवाको लागि दबाब दिएका हुन् ।
सुदुरपश्चिम प्रदेशकै सभापति देउवा र गृहमन्त्री लेखकले उनीहरुलाई जसरी पनि बढुवा गर्न प्रहरी प्रमुखलाई दबाब दिएको स्रोतको दाबी छ । जबकी उनीहरु तिनैजना एसपी बढुवामा पछाडि छन् ।
बिष्ट र थापा तेस्रो लटमा एसपी बढुवा भएका हुन् भने जोशी चौथो लटमा बढुवा भएका हुन् । पहिलो र दोस्रो लटमा बढुवा भएका अधिकृतलाई छोडेर उनीहरुलाई एसएसपी बढुवामा दबाब दिएपछि प्रहरी प्रमुख बसन्त कुवर अप्ठ्यारोमा परेका छन् ।
तर प्रमुख कुवर कुनैपनि हालतमा सिनियरलाई छाडेर जुनियर एसपीलाई बढुवा गर्ने पक्षमा छैनन् । ती तीनजना एसपीहरुले दबाब नदिने हो भने एसएसपी बढुवा तत्कालै निस्किनेछ ।
यस्तै एसपी अर्जुन प्रसाद तिमिल्सिनाले समेत शक्तिकेन्द्रमार्फत दबाब दिएको बताइन्छ । उनी हाल जिप्रका दाङमा कार्यरत छन् । त्यसअघि उनी कप्रमा बसेका थिए । जसकारण उनी समेत जसरी पनि बढुवा हुने भन्दै लबिङ गरिरहेका छन् ।
