वीरगन्ज । सीमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीका अधिकारीहरूले नै नाकालाई तस्करीको हबको रुपमा विकास गरेको पाइएको छ ।
नेपाल भारतसीमा क्षेत्रबाट विभिन्न सामानहरूलाई तस्करी गर्न सशस्त्र प्रहरीकै अधिकारीहरूको मिलेमतो रहेको पाइएको हो ।
पर्साबाट सशस्त्र प्रहरीको मिलेमतोमा लत्ताकपडा , कुखुराको चल्ला, डाबरको पेस्ट, लसुनलगायत विभिन्न किसिमको प्रतिबन्धित औषधी समेतको व्यापक तस्करी हुने गरेको पाइएको छ ।
अमरपर्टी नाकाबाट इन्स्पेक्टर रोबिन ढुंगेलको मिलेमतोमा कुखुराको चल्ला, लत्ताकपडा, कबाडी र काजु लगायतको तस्करी हुने गरेको विश्वस्त स्रोत बताउँछ ।
त्यसैगरी सो नाकाबाट नेपालबाट फेयरवाल क्रिम, डाबरको पेस्ट, लेक्मी क्रिम कस्मेटिकका सामान र कवाड समेत तस्करी हुने गरेको बताइन्छ ।
पर्साको सीमा नाकाबाट हुने तस्करीले आसपासका जिल्लामा समेत बाछिटा परेकाले राजश्व कम उठ्ने गरेको स्रोतको दाबी छ ।
पर्साको अमरपरटी नाकाबाट कतिसम्म तस्करी हुन्छ भन्ने कुरा केही दिन अघिको घटनाले पुष्टि गर्छ । अमरपर्टी नाकामा ढुंगेलले चलाएको तस्करी धन्दामा नेपाल प्रहरीका एसपीले ठुलो मात्रामा लसुन बरामद गरेका थिए।
उनले सशस्त्र प्रहरीले छोडेको तस्करीको सामानहरु अमरपर्टी बीओपीको एरियाबाट केही दिन अघि लाखौ बढीको सामान समातेका हुन् । दैनिक रुपमा अमरपर्टी नाकाबाट लाखौंको लसुन, पेस्ट तस्करीका ट्रक पास हुने गरेको स्थानीय बताउँछन् ।
सशस्त्र प्रहरीको संरक्षणमा मधवल नाकाबाट पर्साका स्वरोप भन्ने तस्करहरुको समूहले कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेका छन् । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको छ ।
उनीहरूले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातीको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।
अमरपटी, मधवल, झौवा, इटियाहीलगायत यी चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरू तस्करीकै कुखुरा चल्लाको भरमा सञ्चालनमा रहेको छ । त्यसैगरि दुईजनाको समूहले डाबरको पेस्ट, कस्मेटिक लेक्मी क्रिमलगायतको तस्करी खुलेको छ ।
त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ । सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपर्टी सिमानाकाबाट तस्करी भइरहेको बताइएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धितालले तस्करीमा कडाई गर्न निर्देशन दिएपनि उनको मातहत रहेका गुल्म र बिओपीहरुले निर्देशन विपरीत तस्कर समूहहरुसङ महिनवारी बुझि ठुलो मात्रामा तस्करीको लाईन सुचारु गराउदै आएका छन् ।
सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक रोबिन ढुंगेलले एसपीदेखि डिआईजीसम्मको भाग बुझि ठुलो मात्रामा लसुन, डाबरको पेस्ट, लेक्मी क्रिम, लत्ताकपडा, हार्डवेयरलगायतको ठुलो मात्रामा तस्करीको लाइन दिएका छन् ।
सशस्त्र प्रहरीका एसपी रिमालले तस्करी बन्द रहेको दाबी गर्दा आएपनि अमरपर्टी नाका, झौवा नाकाबाट भइरहेको तस्करी रोक्छ कि रोक्दैन हेर्न बाकी रहेको जनमानसको भनाइ छ ।
यस बिषयमा बुझ्नको लागि बिओपी प्रमुख ढुंगेलसंग बुझन खोज्दा उनले पुर्ण रुपले तस्करी बन्द गरेको दाबी गरे ।
