काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाश भएका छन् । प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाश भएका हुन् ।
नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशमा गएका हुन् । २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकाश हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन् । उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए ।
अवकाशमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो । बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् । मंगलबारदेखि अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पनि अवकास हुँदैछिन् । उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन् ।
