काठमाडौं । बारामा प्रहरी कर्मचारी (भान्से) राजकुमार रुम्बाको हत्या प्रकरण अनुसन्धानका क्रममा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (इन्स्पेक्टर) श्रीकान्त तिवारीसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्य दुई जनाको पहिचान प्रहरीले खुलाएको छैन् । उनीहरुका विषयमा अनुसन्धान जारी नै रहेको भन्दै बारा प्रहरीले नाम खुलाएको छैन् ।
यद्यपी, दुवै जना इनर्वा सिमराकै रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना पक्राउ परेका तीनैजना बारा प्रहरीको हिरासतमा छन् । प्रहरीका अनुसार उनीहरु रम्बाको साथी रहेको खुलेको छ ।
प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि घटना अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीको दाबी छ । बाराका एसपी महेन्द्र खड्काले करिव एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको बताए ।
व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण रुम्बाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो । जितपुर सिमरा उपमहानगरपालिका–११ मा सडकमा रोकिराखेको बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र उनको शव फेला परेको थियो ।
उक्त कार राष्ट्रिय अनुसन्धान विभागका निर्देशक तिवारीको हो । इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए भने तिवारी पनि विगत एक वर्षदेखि एयरपोर्टमै कार्यरत रहेको प्रहरीले जनाएको छ ।
