काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ले दर्जानी चिन्ह पाएका छन् ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एआइजीमा बढुवा भएका दुर्गा सिंह र भरत बोहोराले आइतबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह पाएका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आइतबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो ।
यस्तै प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकारलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
