काठमाडौं । गत शुक्रबार राति दरबारमार्गको ‘लिक्विड लाउन्ज’मा दुई समूहबीच झगडा हुँदा गृहमन्त्री रमेश लेखकका भान्जा पर्ने रमेश भट्ट घाइते भएका छन् । भट्टलाई गुण्डा नाइके दावा लामा निकटका केटाहरूले कुटपिट गरेर गम्भीर घाइते बनाएका हुन् ।
भट्टलाई नेपाल तरुण दलको केन्द्रीय सदस्य कुलध्वज लामा र नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको समूहले टाउकोमा १५/२० वटा टाँका लाग्ने गरेर कुटपिट गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
विवादित व्यवसायी संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लाउञ्जमा दावाका केटाहरूले भट्ट र उनको समूहमाथि सांघातिक हमला गरेर कुटपिट गरेको हो । ज्यान मार्ने उद्देश्यले लामाको समूहले भटट्माथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
जबकी कुटपिट भएको सीसीटिभी फुटेज समेत सार्वजनिक भएको छ । सार्वजनिक फुटेजमा आइतबार बिहान ३ बजेर १४ मिनेटको समयमा दावाको केटाहरुले भट्टसहितको केही युवाहरुलाई कुटपिट गरेको देखिन्छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी वृत्त दरबारमार्गले दावा लामा निकटको काभ्रेली समूहका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैजना नेपाली कांग्रेसनिकट व्यक्ति रहेको पाइएको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-४ का कुलध्वज लामा, भुम्लु गाउँपालिका-४ का सुजन लामा, तेमाल गाउँपालिका–७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल गाउँपालिका–५ का युवराज लामा र सिन्धुपाल्चोकको जुगल घर भएका दावा तामाङ रहेका छन् ।
सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, प्रहरीले लाउन्ज सञ्चालक संजीव लामालाई भने पक्राउ गरेको छैन् । उनलाई दावाले संरक्षण गरेको कारण प्रहरीले पक्राउ गर्न नसकेको हो ।
यसअघि पनि पक्राउ परेका थिए कुलध्वज र सुजन
तरुण दल केन्द्रीय सदस्य कुलध्वजविरुद्ध पनि २०६९ सालमा ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त दरबारमार्गबाट मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७२ सालमा उनी चोरी मुद्दामा ११ महिना धुलिखेल कारागारमा बसेका थिए ।
त्यस्तै, तरुण दल काभ्रेका अध्यक्ष तामाङ यसअघि पनि ज्यान माने उद्योगमा ललितपुर प्रहरी परिसरबाट मुद्दा दर्ता भएका व्यक्ति हुन् । त्यस्तै अन्य व्यक्तिहरु पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएको प्रहरीले बताएको छ ।
दावालाई काभ्रे कांग्रेस सभापतिको संरक्षण
दावा लामा आफैं विवादित व्यक्ति हुन् । गुण्डा नाइके पृष्ठभूमिका लामा अहिले भुम्लु गाउँपालिकाको उपाध्यक्ष छन् । सार्वजनिक पदमा रहेपनि लामाले गुण्डागर्दी पेशा भने छाडेका छैनन् ।
कुनैबेला इन्काउन्टर हुनबाट बालबाल बचेका दावा गाउँपालिकाको उपाध्यक्ष भएपछि राजनीतिक संरक्षणमा फेरि सलबलाउन थालेपछि काभ्रे प्रहरीलाई हैरान भएको छ । भट्टमाथि कुटपिट गर्ने केटाहरुलाई उनै लामाको संरक्षण छ ।
त्यस्तै दावालाई कांग्रेस नेता तीर्थ लामाले संरक्षण गर्दै आएका छन् । तीर्थ लामा काभ्रे कांग्रेस सभापति समेत हुन् । दावाको समूहलाई सभापति लामाले काभ्रे कांग्रेस कब्जा गर्ने निहतले पार्टीका विभिन्न पद विराजमान गराएका छन् ।
जसकारण काभ्रेमा कांग्रेस पार्टी नै बदनाम हुन पुगेको छ । पार्टीका कार्यकर्ताहरुले समेत तिर्थ लामाको दबदबाले गर्दा हैरानी मात्र होइन धेरै नै दुःख भएको काभ्रे कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
