काठमाडौं । प्रहरी हिरासतबाट रहेका व्यक्तिलाई छुटाइदिने भन्दै परिवारका सदस्यसँग रकम असुली गरेको आरोपमा कैलालीमा ३ जना पक्राउ परेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
कैलाली प्रहरीका एसपी पदमबहादुर विष्टका अनुसार लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई छुटाई दिने भन्दै उनीहरुले परिवारबाट रकम असुलेका थिए ।
थुनुवा छुटाउन उनीहरुले साढे ३९ हजार भारतीय रुपैयाँ लिएको खुलेको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई समेत गरेका थिए । थुनुवाका परिवारलाई विश्वास दिलाउन किर्ते कागजपत्र बनाएर नेपाली कागजमा अदालतको आदेश समेत लेखेर देखाएका थिए ।
उनीहरूलाई थुनामुक्त गरिदिन भन्दै लेखिएको अदालतको भनिएको आदेशमा जिल्ला प्रहरी कार्यालय कैलालीको लोगो र नाम राखेको पाइएपछि किर्ते भएको परिवारले थाहा पाएका थिए ।
