हेटौंडा । मकवानपुर प्रहरीले १ सय ३७ केजी गाँजा बरामद गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरतर्फ गाँजाको भारी बोकेर गइरहेको अवस्थामा राप्ती खोलामा प्रहरीलाई देखेपछि गाँजाको भारी नै छाडेर भरियाहरु भागेका थिए ।
१०/१२ जनाको समूहमा रहेका भरियाहरुले शनिबार बिहान राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारि बसेको थियो ।
प्रहरीलाई देखेर भरियाहरु गाँजाको बोरा छाडेर भागेको प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद भएको छ ।
‘गाँजाको बोरा छाडेर भाग्नेहरुको खोजी गरिरहेका छौं,’ इप्रका मनहरीका प्रहरी अधिकृतले भने । तस्करहरुले राक्सिराङबाट गाँजा खरिद गरेर मनहरी गापाका विभिन्न नाका हुँदै भारततर्फ लैजाने गरेका छन् ।
मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि पुस ६ गतेसम्म ३ हजार ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ ।
