काठमाडौं । सहकारीको रकम हिनमिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फोटो निकै चर्चित भयो । यसले चर्चा मात्रै पाएन, प्रहरीको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गर्यो ।
गत बुधबार राती लामिछानेका सहयोगी दीपक बोहोराले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै प्रहरीलाई दोष दिएका थिए ।
उनले ‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनुपर्ला ।’ भन्दै स्ट्याटस लेखे ।
जुन स्ट्याटस हेर्नुहोस्

बोहोराको स्ट्याटसपछि बिहीबार बिहानसम्म उक्त तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भइसकेको थियो । कास्कीका एसपी, सीडीओ मात्रै होइन आईजीपी र गृहमन्त्रीसम्मलाई तनाव दिएको यो फोटो अन्ततः रविकै कार्यकर्ताले खिचेर सामाजिक सञ्जालमा ल्याएको लगभग पुष्टि भइसकेको छ ।
बोहोराले फेसबुकमा राखेको १२ घण्टा नबित्दै आफूलाई रास्वपाकै ‘शुभचिन्तक’ बताउने चिकित्सक निकोलस भुसालले तस्बिर सार्वजनिक गरेको जिम्मा लिए । उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको स्वीकारेका छन् ।
उनले फोटो खिचेर सञ्जालमा राख्नु गल्ती भएको भन्दै क्षमा पनि मागिसकेका छन् । तर, गृहमन्त्री रमेश लेखकले फोटो प्रकरण छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न निर्देशन दिइसकेका कारण भुसालविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।
यता, घटनाबारे छानबिन गर्न गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति नै गठन गरेको छ । समितिले छानविन गरेर प्रतिवेदन वुझाएपछि कारवाही गर्ने नगर्ने प्रक्रिया अघि बढ्ला ।
तर त्यो फोटोसँगै बोहोरा र भुसालबीच ह्वाट्सएपमा भएको कुराकानीको एउटा स्क्रिनसर्ट सार्वजनिक भएपछि त्यो विषय अझै ताजै छ । उक्त स्क्रिनसटमा रविका सहयोगी बोहोराले नै डाक्टर भुसाललाई खटाएर प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचाएको देखिन्छ ।
जुन स्क्रिनसटमा भएको कुराकानी उनीहरुबीचको होहोइन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपी बोहोरा र भुसालबीच भएको देखिने संवाद ‘लिक’ भएपछि दुवै आप्ठ्यारोमा चाहिँ परेका छन् ।
हेर्नुहोस् स्क्रिनसर्ट

स्क्रिनसटमा उनीहरुले कसरी फोटो खिच्ने र सञ्जालमा भाइरल गराउने भन्ने योजना बनाएका छन् । तर, बोहोराले भने आफ्नो नामबाट नक्कली अकाउन्ट बनाएर ‘फेक च्याट’ स्क्रिनसर्ट बाहिर ल्याइएको दावी गरेका छन् ।
उनले उक्त फोटो आफूले नखिचाएको जिकिर गर्दै यसबारे प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको बताएका छन् । ‘हिजोदेखि निकोलस भुसाल र मबीच कुरा भयो भनेर एउटा फेक च्याट गरेको स्क्रिनसर्ट भाइरल छ । यो के हो भनेर धेरैले मलाई म्यासेज गरिरहेका छन् ।
निकोलस भाइलाई मैले नभेटेकै सात महिना भयो होला । निकोलस पोखरा आएकै मलाई थाहा छैन । फेक च्याट भाइरल बनाउनेहरूविरुद्ध मैले साइबर ब्युरोमा निवेदन दिएको छु ।’– उनले फेसबुकमा लेखेका छन् ।
बोहराले सात महिनादेखि भुसालसँग भेट नभएको ठोकुवा गरिरहँदा कतिपयले भने उनले झुटो बोलिरहेको दावी गरिरहेका छन् । अघिल्लो महिना पोखराको प्रदर्शनमा उनीहरु सँगै देखिएको बताउनेहरु भन्छन्, ‘उनको निकोलससँग सम्वाद भएरनभएको अनुसन्धानले पुष्टि गर्ला । तर, ७ महिनादेखि भेट भएको छैन भन्नुले उनी झुठो बोलिरहेका छन् भन्ने चै पुष्टि हुन्छ ।’
भुसालले तस्वीर फेसबुकमा पोष्ट गरेर तत्कालै डिलिट गर्नु, भोजराज थापालगायतका युट्युबरहरुले त्यसलाई सर्कुलेट गर्नु र बोहराले फेसबुकमार्फत सरकार र प्रहरी प्रशासनको नियतमाथि प्रश्न उठाउनु ! योजनाबद्ध भएको एउटा समूहको निष्कर्ष छ ।
