काठमाडौं । एक वर्ष अघिसम्म अछाम कमलनगर नगरपालिका–६, हात्तिबाचका ३१ वर्षीय नरेन्द्रबहादुर शाही पत्निसहित भारतको मुम्बईमा बस्दै आएका थिए । अचानक उनको स्वास्थ्यमा समस्या देखियो । अस्पतालमा चेकजाँच गराउँदा मिर्गौला फेल भएको पत्ता लाग्यो ।
त्यसपछि उनी औषधी उपचार गर्न नेपाल फर्किए । मिर्गौला प्रत्यारोपण गर्नुको विकल्प नभएपछि उनले श्रीमतीलाई पनि नेपाल बोलाए । भक्तपुरको दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जाँच गराउँदा दुवै मिर्गौला फेल भएको पुनः पुष्टि भयो ।
त्यसपछि उनीहरु अस्पतालनजिकै भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकै कोठा भाडामा लिएर बस्न थाले । गाह्रोसाह्रो पर्दा सहज हुने भन्दै अस्पताल नजिक पर्ने गरी उनीहरुले कोठा भाडामा लिएर बसेका हुन् ।
उनले बुबा ६३ वर्षीय दीपबहादुरसँग मिर्गौलाका लागि कुरा राखे । दीपबहादुर मिर्गौला दिन तयार भए । जाँच गर्दा बुबाको मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखियो । त्यसपछि अछाममा भएकी आमा, सालो र साँढुदाईलाई पनि बोलाए ।
मिर्गौला प्रत्यारोपणको तयारी हुँदै गर्दा दीपबहादुर त्यसका लागि तयार भएनन् । उनकै आनाकानीका कारण मिर्गौला प्रत्यारोपणका लागि डाक्टरले दिएको समय समेत सार्नुपर्यो । उनले बुबालाई फकाउन अनेक प्रयत्न गरे । तर, पार नलागेपछि विवाद सुरु भयो ।
विवाद समान्य थिएन । सोही विवादका कारण नरेन्द्रको ज्यानै गयो । मिर्गौला दिएर छोरा बचाउन तयार भएका दीपबहादुरले पीठ देखाई दिँदा सुरु भएको झगडामा नरेन्द्रको ज्यानै गएको हो । हाल दीपवहादुर प्रहरी हिरासतमा छन् ।
दीपबहादुरलाई छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बुबाछोराबीच विवाद चलिरहेकै थियो । २ पुसको राति करिव सवा १० बजे फेरी दुई जनाबीच झगडा पर्यो । केहीबेर भनाभन चलेपछि खाना खाँदै गरेका नरेन्द्रमाथि दीपले एक्कासी चक्कु प्रहार गरेको पाइएको छ ।
उक्त चक्कु नरेन्द्रको पेटमा लाग्यो । कोठामै भएका साला र साढुभाईले नरेन्द्रलाई तत्काल भक्तपुर अस्पताल पु¥याए । तर, करिव पौने ११ बजेतिर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
नरेन्द्रलाई प्रहार गरिएको चक्कु भाँचिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । अनुसन्धानका क्रममा बाबु दीपबहादुर शाहीले नै नरेन्द्रको हत्या गरेको खुलेको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
मिर्गौला प्रत्यारोपण सम्वन्धि विवाद नै हत्याको कारण देखिएको उनले वताए ।
