काठमाडौं । प्रहरी भनेको कानूनको कार्यान्वयन, नागरिकको सुरक्षा, स्वास्थ्य र सम्पत्तिको सुनिश्चितता गर्न र अपराध र नागरिक अराजकता रोक्न राज्यद्वारा अधिकार प्राप्त व्यक्तिहरूको गठित निकाय हो ।
त्यसैले प्रहरीप्रति जनताको ठूलो आसभरोसा हुन्छ । यसको औपचारिक स्थापना वि. सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि असोजमा भएको हो ।
प्रहरी ऐन २०१२ को प्रस्तावनामा नै उल्लेख गरिए बमोजिम अपराध रोक्ने र पत्ता लगाउने अर्थात अपराध अनुसन्धान र प्रचलित ऐन कानूनको कार्यान्वयन गर्दै शान्ति र व्यवस्था कायम राख्नु नेपाल प्रहरीको मुख्य कर्तव्य हो ।
अहिलेको नियामावलीअनुसार प्रहरी संगठनमा १४ वटा पद छ । जसमध्ये दुईवटा पद विशिष्ट श्रेणी हुन्, प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक ।
त्यस्तै सिनियर प्रहरी अधिकृतहरुको संख्या पाँचवटा छ । प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक सिनियर प्रहरी अधिकृत हुन् ।
यसैगरी जुनियर प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पर्छ । त्यस्तै प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार प्रहरी जवान पदहरु संगठनमा छ ।
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाडौं महानगरपालिकास्थित नक्सालमा अवस्थित छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नेको लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ ।
अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एकातर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ।
यस अर्थमा यसले प्रहरी सङ्गठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ । साथै, सुपरीवेक्षणको काम पनि गर्दछ ।
देशभरिको विभिन्न भौगोलिक परिवेशअनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पाँचवटा विभागहरूको गठन भएको छ ।
जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवश्रोत विभाग र प्राविधिक सहायता विभाग पर्दछन् ।
