काठमाडौं । झापाको दमकमा दुई जना युवतीसँग एक्लै होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका–१० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्।
दमक नगरपालिका–६, बसपार्कस्थित मिलन होटल एन्ड लजमा उनीहरु बुधबार राति बास वस्न पुगेका थिए। सुनुवार बिहान मृत फेला परेपछि सँगै वसेकी एक महिलाले होटल सञ्चालकलाई र सञ्चालकले प्रहरीलाई खबर गरेका थिइन् ।
लगत्तै घट्नास्थलमा इलाका प्रहरी कार्यालय दमकको टोली पुगेको थियो। कोठामा मिक्लाजुङ गाउँपालिका–२ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन्। उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनुसन्धानका क्रममा रामेछापको मन्थली घर भएकी २० वर्षीया सोनु तामाङसमेत होटलको कोठामा सँगै सुतेको खुलेको छ। गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन्।
दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेको छ। घट्नाको अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए।
मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ।
