काठमाडौं । प्रहरी कर्मचारीमा बाह्य दबाब र प्रभावमा बढुवा हुने विषय नौला होइन । शक्तिकेन्द्रको आडमा दबाब दिँदै बढुवा हुने चलन प्रहरीमा ब्याप्त छ । सोहीकारण पछिल्लो समय प्रहरीभित्र रहेको रिक्त पदमा बढुवा हुन सकिरहेको छैन ।
जसको कारण एउटै हो राजनीतिक शक्तिकेन्द्रको दबाब । दबाब थेग्न नसकेपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले शक्तिकेन्द्रमार्फत भनसुन गराउने प्रहरी अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल प्रहरीका केही अधिकारीहरू ‘चेन अफ कमाण्ड’ उल्लंघन गरेर व्यक्तिगत स्वार्थमा लागेपछि आईजीपी कुँवरले कडा चेतावनी दिँदै कारबाही गर्ने सर्कुलर जारी गरेको पाइएको छ ।
बुधबार प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कडा कारबाही गर्ने भनिएको छ ।
व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहने गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको सचिवालयबाट जारी भएको सर्कुलरमा उल्लेख गरिएको छ ।
त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी आईजीपी कुँवरले दिएका छन् । कतिपय बदनाम प्रहरी अधिकारीले उच्च तहका नेताबाट निरन्तर दबाब दिएपछि यस्तो परिपत्र जारी भएको स्रोत बताउँछ ।
पछिल्लो समय प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवामा आईजीपी कुँवरले राजनीतिक दबाब झेलिरहेका छन् । जसकारण उनी हैरान छन् ।
त्यस्तै आकर्षक ठाउँको लागि सरुवामा दबाब दिने प्रहरी अधिकृतको समेत रेकर्ड राखिने कारबाही गर्ने प्रधान कार्यालयको तयारी छ ।
सोहीअनुरुप प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्ता सरुवाहरुलाई रेकर्ड (अभिलेख)मा राखेर मुल्यांकन गरिने उल्लेख गरिएको छ।
