काठमाडौं । सांसदहरूले अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्ने सुझाव दिएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ताहरुसँगको छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन् ।
केही दिनमा नै अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दा थप पेन्सनको भार थपिने भएकाले यस्ता काम रोक्नुपर्ने सुझाव सांसदहरुले दिएका थिए ।
माथिल्लो तहमा कर्मचारीको बढुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढाउनुपर्ने समेत सांसदहरूको सुझाव छ । बैठकमा सांसद अमरेश कुमार सिंहले निजामती सेवाबाट अवकाश प्राप्त भइसकेपछि विदेशको पिआर लिने र वर्षमा एक पटक आएर पेन्सन थाप्ने कामको अन्त्य हुनुपर्ने सुझाव दिए ।
अवकाशप्राप्तपछि विदेशको पिआर लिएर बस्नेलाई पेन्सन रोक्नुपर्ने उनले बताए । त्यस्तै उनले सम्मानको नाममा अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने प्रचलन समेत रोक्नुपर्ने उल्लेख गरे ।
त्यस्तै अन्य सांसदहरूले काजको व्यवस्था हटाएर तोकिएको निकायले खटाएको ठाउँमा जानै पर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
