काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सरिताको घर धादिङ गजुरी गाउँपालिका–४ हो ।
सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई प्रहरीले बुधबार राति साढे ९ बजे कोठाबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु नातेदार हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिता २९ मंसिरको राति १२ बजेदेखि सम्पर्कविहिन थिइन् । उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
निवेदन परेपछि प्रहरीले सरिताको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा ३ पुसको दिउँसो करिव ३ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
सरिताको शव उनी वस्दै आएको चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईँ तलाको कोठाभित्र फेला परेको थियो । विश्वासले सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाएर भागेको खुलेको छ ।
किशोरीको शव भेटिएपछि उनले प्रयोग गर्ने मोबाइललाई केन्द्रित गरेर अनुशन्धान सुरु गरेको प्रहरी आरोपी विश्वाससम्म पुग्न सफल भएको प्रवक्ता अधिकारीले वताए ।
अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटिएको थियो । त्यसपछि उनले घटना पनि स्विकार गरे । सामान्य विवादमा भवितव्यमा परेर सरिताको हत्या भएको उनको जिकिर छ ।
मृतक किशोरी नैकापस्थित विष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा अध्ययनरत थिइन् । आरोपी तामाङलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
