काठमाडौं । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कानुनी कारबाही गर्ने बताएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाएको हो ।
कास्की प्रहरीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको कास्की प्रहरीले उल्लेख गरेको छ ।
कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ।’
भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।
