काठमाडौं । सिरहामा सशस्त्र प्रहरी बल नेपालका नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ । सई यादवको १६ मंसिरमा उपचारको क्रममा निधन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि गाडीले ठक्कर दिएर हत्या गर्ने समूहको पहिचान गर्न सफल भएको हो । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पाँच जनाको समूहद्धारा सई यादवको हत्या भएको खुलेको बताए ।
जसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको एसपी पण्डितले बताए । उनले भने, ‘बाँकी चार जना फरार छन् ।’
घटनालगत्तै सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जसमध्ये एकजनाको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
हिरासतमा रहेका ती व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन । अहिले पीडित परिवारकोतर्फबाट सवारी ज्यान र संगठित अपराधको कसुरमा किटानी जाहेरी परेको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि सवारी ज्यान र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको एसपी पण्डितले बताए । फरार रहेका चार जनामा नेपाली र भारतीय दुवै रहेको प्रहरीले जनाएको छ ।
यसअघि सुरुमा प्रहरीले सई यादवलाई ठक्कर दिने स्कर्पियो गाडीको पहिचान गरेको थियो । उक्त गाडी भारतीय नम्बर प्लेटेको रहेको खुलेपछि घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरी सफल भएको हो ।
सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत यादवले जतिबेला मदिरा तस्करलाई पिच्छा गरेका थिए । उक्त बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।
सोही कुरा तस्कर समूहले थाहा पाएपछि स्कारपियो गाडीले सई यादवलाई ठक्कर दिएर भारततर्फ भागेको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई तत्काल नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३ः४५ बजे प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो ।
तर, अस्पताल पुर्याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो ।
