काठमाडौं । मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५ ठेगाना भएका निराजन नेपाली पक्राउ परेका छन् ।
एनसीबी आबुधाबी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।
निराजन नेपालीलाई सम्बन्धित कसूर बमोजिम कानुनी कारबाही लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
पक्राउ परेका निराजन नेपालीमाथि अमेरिका पठाइदिने भन्दै थुप्रै नेपाली युवाबाट लाखौँ उठाएर बिच बाटोमै अलपत्र बनाएको आरोप छ ।
अमेरिका पठाइदिने भन्दै निराजनलगायत पश्चिम रुकुमकै कृष्ण चन्द तथा नुवाकोटका बाबुलाल रुम्बा, गोविन्द थापा र राजेश बलामीले एक जनाबाट ७० देखि ८० लाखसम्म उठाउने गरेको एक पीडित बताए । तर, अहिलेसम्म निराजन मात्र पक्राउ परेका छन् ।
ती पीडितले उनीहरुविरुद्ध मानव बेचबिखन ब्यूरो र जिल्ला अदालत काठमाडौंमा समेत उजुरी दिएका छन् । तर, निराजनबाहेक अन्य फरार रहेको उनले भन्दै मानव दलाललाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
