काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित झापा विर्तामोडका युवराज सुवेदीसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय सुवेदीसहित काठमाडौं महानगरपालिका–३२ दोभानपुलका ४६ वर्षीय राजकुमार माली, महानगरपालिका–१० का १८ वर्षीय एक किशोर, महानगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल छन् ।
प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार स्रोत नखुलेको रकम भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल बरामद गरिएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
