काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नेपाली कांग्रेससँग सहकार्य गरेको बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले राजनीतिक अन्यौल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको प्रस्टीकरण दिए ।
प्रधानमन्त्री ओलीले एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।’
