काठमाडौं । बर्दियाको गुलेरिया नगरपालिका–४, पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा स्कुटर दुर्घटनामा पर्ने साह परिवार सप्तरीको रुपनी गाउँपालिका १ बाट गएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाकाका अनुसार दुर्घटनामा परी स्कुटर चालक गुलेरिया– ६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्याको मृत्यु भएको छ । स्कुटरमा सवार साहकी श्रीमती ३२ वर्षीया रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते छन् ।
बर्दियाका डीएसपी ऋषिराम घर्तीकाअनुसार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । दुर्घटनामा चारै जना घाईते भएका थिए ।
बाबुछोरीको बर्दिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुवी र प्रिन्सको उपचार सोही अस्पतालमा भईरहेको छ । छोराको अवस्था सामान्य छ । रुवी भने श्रीमान र छोरी गुमाएको थाहा पाएपछि अचेत छिन् ।
मास्टर डिग्री गरेका साह एक दशकदेखि वर्दियामा वसेर स्वास्थ्यसम्बन्धी काम गर्ने आड्रा नेपाल नामक गैरसरकारी संस्थामा काम गर्दै आएका थिए । आइतबार उधौली पर्वको बिदाको दिन उनी परिवारसहित घुम्न निस्किएको खुलेको छ ।
छोराछोरी स्कुटरको अगाडि राखेर पछाडि बसेका साहले बाटो नदेखेर सन्तुलन गुमाई ट्क्याक्टरमा ठोक्काएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
रामुकमारका बुबा बैद्यनाथको ७ बर्ष अगाडि नै मृत्यु भएको थियो । एक्लो छोराको मृत्यु भएपछि ७५ वर्षीया वृद्धा आमा विछिप्त छिन् । अविवाहित एक वहिनीलाई दाजु वितेको विश्वासै लागेको छैन । उनी अचेत अवस्थामा छिन् । रामकुमारको मृत्युको खबरले रुपनी गाउँ शोकमा छ ।
