काठमाडौं । नेपाल प्रहरीका विवादित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन् । उनी उमेरहदका कारण आइतबार राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् ।
प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन् ।
ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ ।
अवकाशमा जाने डीआईजी ठकुरी उनै डीआईजी हुन्, जो जागिर अवधिमा निकै विवादित बनेका थिए । केही समय अगाडिमात्रै उनी कारबाहीस्वरुप कर्णालीबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।
ठकुरी मदिरा पिएर नाइट बस चढेको प्रकरणपछि तानिएका थिए । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा ठकुरीलाई हेडक्वाटर तानिएको हो ।
