काठमाडौं । अहिलेकै प्रहरी नियमावलीअनुसार अबको तीन महिनापछि नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) चयन हुनेछ । आईजीपी बसन्त बहादुर कुँवर ३० वर्षे सेवाअवधी पूरा गरेर अवकाशमा जाने भएपछि सरकारले नयाँ आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ ।
२०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट आईजी नियुक्त भएका कुँवरले ३० वर्षे सेवाहदका कारण आगामी ५ चैतमा अवकाश पाउँदैछन् । कुँवर नेपाल प्रहरीको ३० औं आईजीपी हुन् ।
उनको कार्यकाल सकिएलगत्तै नयाँ आईजीपी को भन्ने चर्चा चल्न थालेको छ । अबको तीन महिनापछि ३१ औं आईजीपी को ? भन्ने चर्चा चलिहरँदा प्रतिस्पर्धीहरुसमेत दौडधुप गरिरहेका छन् ।
३१ औं आईजीपीको दौडमा तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु छन् । अहिलेकै परिस्थिति हेर्दा एआईजीत्रय दीपक थापा, सुदीप गिरी र टेक बहादुर तामाङ आईजीका मुख्य प्रतिस्पर्धी हुन् ।
जसमा पहिलो सूचीमा रहेका एआईजी थापा सबैलाई समेट्न सक्ने क्षमताका हुन् । थापा विगतका आईजीपीहरु भन्दा सहज ढंगले नेतृत्वमा पुग्ने चर्चा गरिएको छ । प्रतिस्पर्धीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ ।
थापा सिनियारिटीकाअनुसार पहिलो नम्बरमा समेत रहेको र सबैलाई समेटेर लैजाने सक्ने क्षमताका भएकाले पनि विवाद समेत नहुने देखेपछि सरकार उनलाई कार्यक्षमता र सम्पादनको उच्च मुल्यांकन गरि नेतृत्व सुम्पिने तयारीमा छ ।
व्यक्तिगत अब्बल क्षमताका धनी रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले उनी बलिया दाबेदार मानिएका हुन् । व्यावसायिक छवि भएका प्रहरी अधिकृतको रुपमा थापा प्रहरी वृतमा परिचित छन् ।
एआईजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वमात्रै सम्हालेनन् प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को समेत सफल जिम्मेवारी सम्हालिरहेका छन् ।
त्यस्तै प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा उनले बागमति प्रदेश प्रहरी कार्यालयको छोटो समय नेतृत्व सम्हाले । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर थुप्रै कामहरु गरे ।
यसरी प्रहरी उपरीक्षक (एसपी)मा जिल्ला इन्चार्ज, प्रहरी नायब उपरीक्षक (डिएसपी)मा वृत्त तथा इलाका इन्चार्ज र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा प्रभागहरुको समेत कमाण्ड गरेको अनुभव उनीसँग छ ।
थापाका अर्का प्रतिस्पर्धी एआइजी गिरीको पनि केहि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्धमा रहेको पाइन्छ । उनी त्यही सम्बन्धका आधारमा आफु अगाडि बढाउने सोचमा रहेका छन् ।
एआईजी गिरी पनि प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृत हुन् । उनले पनि थुप्रै युनिटहरुको सफल कमाण्ड गरेका छन् । जसले गर्दा सरकारलाई रिझाउने दाउमा छन् गिरी ।
त्यस्तै अर्का एआईजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् । तेस्रो नम्बरमा रहेका उनी समेत प्रहरीमा काबिल अफिसर हुन् । अधिकांश समय फिल्डमा खटिएका उनी अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन् ।
३१ औँ आईजीपीका लागि प्रधामन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई रिझाउनुपर्ने जानकारहरु बताउँछन् । त्यसैले बाहिर दौडधुप नदेखिए पनि भित्र–भित्र थापा र गिरीले नेकपाका नेताहरुसँग आफ्नो भेटघाट बाक्लो बनाएको स्रोतको दावी छ ।
‘प्रधानमन्त्री ओली र सभापति देउवाको मन जित्ने व्यक्ति नै स्वतः भावी आईजीपी हो,’ गृहका एक अधिकारीले भने, ‘थापा र गिरीमध्ये ओली र देउवाको मन जित्ने व्यक्ति नै ३१ औं आईजीपी बन्ने निश्चित छ ।’
आईजीपी बढुवाका लागि गृहमन्त्रालयले मन्त्रिपरिषदमा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर आईजीपी बनाउनका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्छ । मन्त्रिपरिषदको निर्णयले प्रहरी महानिरीक्षक तोक्ने कानूनी प्रावधान छ ।
