काठमाडौं । लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ ।
शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो । विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ ।
अब वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन् । तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन् ।
तल्लो तहका प्रहरीहरुले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका थिए ।
प्रहरी निरीक्षक (इन्सपेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको हकमा भने अहिले कायमै रहेको सेवा प्रवेश गरेको २० वर्षमा पेन्सन हुने व्यवस्था समेटिएको छ । इन्स्पेक्टर भर्नाको अधिकतम उमेर २७ वर्ष बनाइएको छ ।
विधेयक समितिले पास गरेको दुवै प्रहरीसम्बन्धी विधेयक मन्त्रिपरिषद् बैठक हुँदै संसदमा लैजाने सरकारको तयारी छ । विधेयक संसदबाट पनि पास भएपछि मात्र कार्यान्वयनमा जानेछ ।
यसअघि प्रहरी नियमावली २०४९ कार्यान्वयनमा हुँदासम्म १६ वर्ष सेवा अवधि पूरा गरेपछि पेन्सन पाउने सुविधा थियो । तर प्रहरी नियमावली २०७१ लागू भएपछि उक्त प्रावधान सच्याएर १६ को ठाउँमा २० वर्ष पुर्याइएको थियो ।
यो व्यवस्था लागू भएपछि धेरै प्रहरी कर्मचारीले सेवा अवधि नपुग्दै राजीनामा दिने गरेका थिए ।
