काठमाडौं । शनिवार दिउँसो करिव १२ बजे बा ३५ प ५८१८ नम्बरको स्कुटरमा एक जना महिला काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोकमा पुग्छिन् ।
चोक नजिकको बागमती नदी किनारमा रहेको खाली जग्गामा स्कुटर रोक्छिन् । स्कुटरमै राखेको मिनरल वाटरको वोतलमा ल्याएको पेट्रोल शरीरमा छर्किन्छिन् र आफनै शरीरमा आगो लगाउँछिन् ।
यो सवै घट्नाक्रम हेरिरहेका स्थानीयले उनलाई जोगाउने प्रसार गर्छन् । पानी छर्किन्छन् र आगो निभाउँछन् । घटनाको बारेमा प्रहरीले जानकारी पाउँछ र गम्भिर घाइते तथा बोल्नै नसक्ने अवस्थामा उनलाई उपचारका लागि साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पठाइन्छ ।
त्यतिबेलासम्म ती महिला को हुन भन्नेसम्म खुल्दैन । तर, प्रहरीले अनुसन्धान थालेपछि आत्मदाहको प्रयास गर्ने ती महिला चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटारमा डेरा गरेर बस्ने ३८ वर्षीया कमला आचार्य रहेको खुल्छ ।
उपचारकै क्रममा आज बिहान पौने ६ बजे आचार्यको मृत्यु भएको छ । प्रहरीका अनुसार १२ बजे पेट्रोल छर्केर आगो लगाएकी कमला र उनका श्रीमानबीच ११ बजेर १२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ । त्यसमा पनि उनले अरूलाई कुनै दोष लगाएकी छैनन् ।
मृतक महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिवारको सदस्यहरूले प्रहरीलाई बताएका छन् । प्रहरीले घट्नास्थलबाट कमलाको ‘सुसाइड नोट’ पनि फेला पारेको छ ।
जसमा आत्मदाहका पछाडि कसैलाई दोष दिईएको छैन । आफ्ना कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उनले सुसाइड नोटमा उल्लेख गरेकी छिन् ।
प्रहरीले जनाएअनुसार सुसाइड नोटमा भनिएको छ– ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू ।’
प्रहरीका अनुसार मृतक महिला श्रीमान् ४१ वर्षीय ज्ञानेन्द्र भट्टराई र २ छोरासहित जोरपाटी नारायणटारमा डेरा लिएर बस्दै आएका थिए । उनीहरुको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा केएन्डए स्टेसनरी पसल छ ।
