काठमाडौं । १३ वर्षपछि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उपप्रबन्धक श्रेष्ठलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
श्रेष्ठबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर उनले ३९ करोड ८९ लाख हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
दुई वटा छुट्टाछुट्टै मुद्दामा उनीबिरुद्ध ६–६ महिना कैद सजाय तोकिएको छ । २०६८ भदौ ६ मा ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।
२०७३ कार्तिकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले सो फैसलालाई सदर गरेका थिए । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने बताइएको छ ।
