काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् ।
३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यभार तोकेका थिए । तर, प्रधानमन्त्री ओली र देउवा केही मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै हेरफेरको तयारीमा जुटेका हुन् ।
प्रधानमन्त्री ओली र सभापति देउवाको रेड जोनको पहिलो सूचीमा परेका छन् गृहमन्त्री रमेश लेखक । शालिन र भद्र भएपनि लेखकले गृह मन्त्रालयको जिम्मेवारी राम्रोसँग निर्वाह गर्न नसकेको आरोप छ ।
जसकारण लेखकलाई गृहमन्त्रीबाट हटाउने तयारीमा देउवा समेत सकारात्मक छन् । प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकसँग काम गर्न अफठ्यारो भएको भन्दै देउवालाई अर्को व्यक्ति पठाइदिन आग्रह गरेको बुझिएको छ ।
लेखकको ठाउँमा महामन्त्री गगन थापालाई पठाइदिन ओलीले आग्रह गरेको स्रोत बताउँछ । त्यसपछि देउवाले महामन्त्री थापालाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीसँगै राखेर यस विषयमा छलफल गरेका थिए ।
‘लेखकको काम भएन, तपाईको नेतृत्वमा सरकारमा आउनपर्यो,’ ओलीले देउवासमक्ष थापालाई भनेका थिए । सरकारमा गएर फेल भएर आउने हो कि भन्ने डरपछि थापाले विचार गर्छु भन्दै पन्छिएको स्रोत बताउँछ ।
त्यसो भए गृह-अर्थ साटासाट
त्यसो त सभापति देउवाले आफ्नो प्रधानमन्त्री कार्यकालमा चुनाव हुने भएकाले अहिले गृहमन्त्री एमालेलाई दिएर अर्थ मन्त्रालय लिने गरी प्रधानमन्त्री ओलीसँग छलफल समेत गरेका छन् । जुनकुरामा ओली समेत सकारात्मक रहेको स्रोत बताउँछ ।
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदैछ । अहिले अर्थ मन्त्रालय लिँदा महाधिवेशनमा समेत सजिलो हुने भएकाले सभापति देउवा एमालेलाई गृह मन्त्रालय दिन राजी भएको बताइन्छ ।
‘चुनावी गृहमन्त्री चाहिने र अनि कांग्रेस महाधिवेशनमा पनि सजिलो हुने भएकाले अर्थ मन्त्रालय लिने गरी प्रधानमन्त्रीसँगको छलफलपछि सभापति देउवा सरकार पुनगर्ठनको तयारीमा जुटेका हुन्,’ प्रधानमन्त्री निकट स्रोतले बतायो ।
यदी अहिलेको अवस्थामा गृह एमालेले र अर्थ कांग्रेसले लिनेगरी सहमति भएको अवस्थामा अर्थमा महामन्त्री थापाको ‘इन्टी’ हुनसक्छ ।
त्यस्तै एमालेले गृह पाएको अवस्थामा पदम गिरीको चर्चा छ । प्रधानमन्त्री ओलीको विश्वासपात्र रहेका गिरी पार्टीमा समेत इमान्दार र निडर पात्र हुन् । त्यसैले एमालेले गृह पाउँदा गिरीले कमाण्ड सम्हाल्ने पक्कापक्की छ ।
अब मन्त्रिपरिषद पुनगर्ठन हुँदा ८ वटा मन्त्रालय हेरफेर गर्ने तयारी ओलीको छ । जसमा चारवटा कांग्रेसको छ भने बाँकी एमाले र मधेसवादी दलको हेरफेर हुनेछ ।
कार्यसम्पादन कमजोर मानिएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री प्रदीप यादव, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीलगायत परिर्वतन हुने बताइएको छ ।
