काठमाडौं । प्रहरी प्रधान कार्यालयले रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी गरेको छ । प्रधान कार्यालयले गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीसँग समन्वयगरी बढुवाको तयारी गरेको हो ।
प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त रहेकाले यसको तयारी गरेको हो । प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएकाहरुको दज्र्यान्ही चिन्ह लगाएसँगै प्रहरी उपरीक्षक (एसपी) हरुको एसएसपीमा बढुवा सिफारिस हुने भएको हो ।
रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन् । २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन् ।
यीमध्ये पनि दुईपटकमा एसपी भएका ३८ जना मुख्य दाबेदार देखिएका छन् । ९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन् । हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन् ।
यस्तै, २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर पछि परेका एसपीहरू पनि अहिले बढुवाको लागि लबिइङ गरिरहेका छन् । उनीहरू २०५८ को टोलीसँग २०७५ माघमा एसपीमा बढुवा भएका थिए ।
२०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन् । बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बढुवा हुनेछन् ।
यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए । अहिले पनि उनको कार्यसम्पादन मूल्यांकन अघिल्लो वरीयताकै जस्तो कायमै रहेकाले आफ्नो ब्याचमा एक नम्बर हुने निश्चित देखिएको छ ।
त्यस्तै यसपटक कार्यसम्पादन मूल्यांकनमा निकै राम्रो र अनुसन्धानमा समेत अब्बल देखिएका कृष्णप्रसाद पंगेनी, नवराज अधिकारी, अनुपम शमशेर जबरा, होविन्द्र बोगटी, दयानिधी ज्ञवाली, सन्तोष सिंह राठौर, प्रभु प्रसाद ढकाललगायत बढुवाको लाइनमा छन् ।
यसैगरी, प्रकाश रानाभाट, अजय केसी, रन्जु सिग्देल, शान्तिराज कोइराला, कृष्ण प्रसाद कोइराला, प्रविण धिताल, महेन्द्र खड्का, राजेन्द्र धमला, वेद बिष्ट, ज्ञानेन्द्र प्रसाद फुयाल, तुल बहादुर कार्की पनि बढुवाको दौडमा रहेका छन् ।
यता, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले बढुवामा निष्पक्षताका साथ मूल्याङकन हुने र बढुवाको लागि प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याकंन यथाशीघ्र लागू हुने बताए ।
उनले पटक पटक प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन लगायत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने चर्चा गर्दै इमान्दार र व्यवसायीक प्रहरी अधिकृतलाई बढुवामा अन्याय नगर्नेगरी राजनीतिक नेतृत्वसँग अडान लिएको बताउँदै आएका छन् ।
यो बढुवामा समेत आईजीपी कुँवरले व्यवसायीक र इमान्दार प्रहरी अधिकृतलाई नछुटाउने अडान लिएको बताइन्छ ।
