काठमाडौं । २१ मंसिरमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अनिवार्य अवकाशमा गए । यस्तै २७ मंसिरमा अर्थात तीन दिनपछि एआईजी भिम प्रसाद ढकाल पनि अनिवार्य अवकामा जाँदैछन् ।
त्यसैले गृह मन्त्रालय २ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई एआईजीमा बढुवा गर्ने तयारी गरेको छ । ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने गृहको तयारी छ ।
केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो । ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि बढुवा भएका थिएनन।
तर यसपटक सिंहलाई एआईजीमा बढुवा गर्ने तयारी छ। सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छिन् । तर, कडायत भने यसपटक पनि एआईजी बन्ने सम्भावना कम छ।
अब रिक्त हुने एआईजीमा भरतबहादुर बोहरालाई बढुवा गर्ने तयारी छ । हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा पनि अवकाश हुन लागेका छन् । उमेरहदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन् ।
उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजी बनाउने गृहको तयारी छ । पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य पनि अनिवार्य अवकाश हुनेछिन् । बज्राचार्य र बोहरा अवकाश भएपछि फेरि कडायतसहित दुईजना एआईजीमा बढुवा हुनेछन् ।
प्रहरी महानिरीक्षक कुँवरले आफ्ना ब्याचीलाई सकेसम्म बढुवा गर्ने नीति लिएका छन् । यसअघि किरण राणा २ दिनका लागि एआईजी भएकी थिइन् । उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा गरिएको थियो ।
सम्भवतः आजभोलिमै सरकारले एआईजी बढुवा निकाल्नेछ ।
