काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । मंगलबार सिग्देल भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन् । भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी छन् ।
प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।
सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
भ्रमणको क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् । उनको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग केसीलाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको छ ।
सिग्देल मंसिर ३० मा स्वदेश फर्किनेछन् ।
