काठमाडौं । श्रीमान गणेश चन्द प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएपछि गण्डकी प्रदेश प्रहरी प्रमुख रहेकी डिआईजी दुर्गा सिंह चन्दले बधाई तथा शुभकामना दिएकी छन् ।
फेसबुकमार्फत बधाई दिँदै सिंहले भनेकी छन्, ‘बधाई छ, राजा तपाईंले डिआईजी पदोन्नतिको योग्यता पाएकोमा । २९ वर्षको लगनशील, कडा परिश्रम अन्ततः सार्थक भएको छ । तपाईंको निडर आत्मा, आशावादी र दृढ संकल्प हामी सबैका लागि प्रेरणा हो ।’
उनले थपेकी छन्, ‘म तपाईंलाई हरेक दिन विश्मय र पूर्णगर्वका साथ हेर्छु तपाईं हाम्रो घर र जीवनको तारा हुनुहुन्छ ।’ उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको हो ।
गणेश चन्द १७ मंसिरको गृहमन्त्रीस्तरीय निर्णयअनुसार डिआईजीमा बढुवा भएका हुन् । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा गणेश चन्द बढुवा हुँदा सिंह गण्डकी प्रदेश प्रहरीको कमाण्ड सम्हालिरहेकी छन् ।
२०५१ चैतमा प्रहरी निरीक्षकमा एकैसाथ प्रहरी सेवा प्रवेश गरेका उनीहरु श्रीमान-श्रीमती हुन् । प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवादेखि श्रीमान गणेशलाई पछि पार्दै दुर्गा सिनियर बनेकी थिइन् ।
उनी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रबल दावेदार समेत हुन् । दुर्गा २०७९ असार १७ मै डिआईजीमा बढुवा भएकी थिइन् ।
दुर्गा सिंह भने आउँदो चैतमा प्रहरीको ३० वर्षे सेवा हदका कारण अवकाश जानेछिन् भने गणेश डिआईजीको ५६ वर्षे उमेरहदका कारण आउँदो पुसमा अवकाशमा जाँदैछन् ।
