काठमाडौं । प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत रहेको सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) का निमित्त इन्चार्ज लक्ष्मणप्रसाद यादवलाई आइतबार विहान मदिरा तस्करीमा संलग्न गाडीले ठक्कर दिएर ज्यान लियो ।
स्कार्पियो गाडीमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा ४८ वर्षीय यादवको कमाण्डमा ५ जनाको मोटरसाइकल गस्ती टोलीले आइतबार बिहान ३ बजेदेखि गाडीको पिच्छा गरेको थियो । सो क्रममा मदिरा तस्कर समूहको स्कार्पियोले सई यादवलाई ठक्कर दिएर ज्यान लियो ।
तर, सई यादवलाई ठक्कर दिने गाडी भारततर्फ फरार भएको छ । सिरहाकै नरहा गाउँपालिका–४ ललभितिया निवासी सई यादवको मृत्यु भएपछि आइतबार बिहान ९ बजेदेखि नै आफन्तले लहान नगरपालिका–३ हस्पिटल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भेला भएर टायर बाल्दै प्रदर्शन गरे ।
गाडी नियन्त्रणमा लिएर कारबाही गर्ने सहमति भएपछि सडक खुलेको थियो । यता, घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर, उनीहरुको पहिचान खुलाइएको छैन् ।
सई यादवलाई ठक्कर दिने सवारी साधन स्कार्पियो भारतीय नम्बर प्लेटको भन्ने पहिचान भएको प्रहरीले जनाएको छ ।
यसरी मदिरा तस्करकले प्रहरीको ज्यान लिएको यो पहिलो घटना भने होइन । २ वर्षअघि तस्कर समूहले भारतीय प्रहरी बल एसएसबीका हेड कन्सटेबल देवराज शर्माको पनि हत्या गरेको थियो ।
१३ भदौ ०७९ मा सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कार्पियो जयनगरतर्फ जाँदै गरेको सूचना एसएसबीले पाएको थियो ।
सोही सूचनाका आधारमा भारतको मधुवती जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिरा बोकेका जीपलाई रोक्न खोज्दा हेड कन्सटेबल शर्मा मारिएका थिए । गाडीले शर्मालाई किचेर अगाडि बढेको थियो । जतिबेला उनले घटनास्थलमै ज्यान गुमाए ।
अहिले फेरि सोही प्रकृतिको घटना सिरहामा दोहोरिएको छ । सिरहामा सशस्त्रका एसपी नरेश भण्डारी छन् । मदिरा तस्करीकै विवादले १६ असोज २०८० मा सशस्त्र प्रहरी हेडक्वाटरले एसपी प्रमोद भारतीको जिम्मेवारी खोसेर भण्डारीलाई पठाएको थियो ।