काठमाडौं । नेपाल प्रहरीका आठजना प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट बढुवा भएका ८ डिआजीहरुलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।
